पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

काठमाडौँ । निरन्तर परेको वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो ।

बिहीबार दिउँसो करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ । पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुश्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्यालय पाल्पाले जानकारी दिएको छ ।