वसन्तपुरमा ठड्याइयो इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’

काठमाडौँ । इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याएको छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात योसिँ ठड्याएपछि सुरु भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । बुधबार बिहान ७ स:१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें: या भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ ।