भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

काठमाडौँ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा ७४ जनाको मृत्यु भएको छ । मङ्गलबार राति ९ बजेसम्म भूकम्पमा परेर ७४ जानको मृत्यु भएको २६ जना बेपत्ता रहेका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी गराएको हो ।

गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताएको छ । यान सहरमा मङ्गलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जानकारी दिएको छ ।

सिचुआन प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ । त्यसको नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।

भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएको छ । सो भूकम्प १० किलोमिटर गहिराइमा तथा ६.८ म्याग्निच्युडको रहेको पनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार गएकोे भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिएका थिए । उनले यस कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।

भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अर्को शहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।