प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी

काठमाडौँ । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा बिहीबार वसन्त अधिकारीले पदबहाली गरेका छन् । भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त भएका हुन् ।

पदवहाली भएसँगै उनले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताएका छन् । नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘वडा सशक्त हुनुपर्छ ।

अधिकारीले भने वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका सिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’

अधिकारी २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव भएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गरेका छन् । काठमाडौं महानगरमा आउनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी निभाइरहेका थिए ।