युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

काठमाडौं । भारतले युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेर विशेषगरी विकासोन्मुख देशहरुमा पनि खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको छ ।

सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताएको छ ।

“भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी राख्नेछ । “युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन,” उनले बुधबार सुरक्षा परिषद्को बैठकमा भनेका छन् ।

द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा खाद्यान्न, मल र ईन्धन सुरक्षाको बारेमा चिन्ता बढाइरहेको छ र हामी सबैले समानता, सामथ्र्य र पहुँचको महत्वलाई पर्याप्त रूपमा बुझ्नु आवश्यक रहेको प्रतिनिधि रुचिरा काम्बोजको भनाइ छ ।

रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमनलगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ ।