कनकाईमा ‘मास लाइट’ जडान

काठमाडौँ । झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो ।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार २ करोड ६० लाखको लागतमा ४ वटा मास लाइट तथा १ सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न १६ लाख खर्च हुने उनले बताए । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ ।

“दुई स्थानमा जडान भइसकेको छ”, पोखरेलले भन, “थप दुई स्थानमा जडान जारी छ ।” सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले १ सय मिटर वरपरसम्म उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उनको भनाइ छ ।

नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ । हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ ।