सेनाको कारबाहीमा १२० विद्रोही मारिए

काठमाडौं । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि १ सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ ।

सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् । लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि १ सय २० जना लडाका मारिएका छन् ।

बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए । त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए । सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो ।