काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न

काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न भएको छ ।

सामान्य झरी पर्दा काठमाडौंका होचा ठाउँमा सडक जलमग्न हुने गरेका छ । पानीको निकासको उचित व्यवस्था नभएकाले सडक जलमग्न भएको हो । जसको असर पैदल यात्रुलाई मात्र होइन, सवारी साधनलाई पनि पर्छ ।

वर्षापछि बागमती, मनोहरा, धोबिखोला लगायतका नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्र तथा खोलाकिनारको बाटो यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशााखाले आग्रह गरेको छ । यतिबेला माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको थियो । माइतीघर जलमग्न हुँदा सिंहदरबार र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ ।

पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।