बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

काठमाडौँ । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट ( ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

गत शनिबार अपरान्ह साँढे पाँच बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको आरोपमा घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई प्रहरी चौकीमा जिम्मा लगाएका थिए।

प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर स्थानीयलाई हारगुहार गरेपछि गाउँलेले घेरा हालेर प्रहरीको जिम्मा लगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। पीडित बालिकाका अनुसार रानाको मुखमा रक्सी गन्हाईरहेको थियो।

गएराती जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अहिले जाहेरी दिने तयारी भइरहेको पीडितका दाजुले जानकारी दिए।