मिटरब्याज पीडित र प्रहरीबीच झडप, ४५ जना नियन्त्रणमा

काठमाडौँ । मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । मिटरब्याजीविरुद्धको मजदुर किसान संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित कम्तिमा ४५ जना पीडितलाई कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई कीर्तिपुर प्रहरीवृत्तमा राखिएको छ ।

आन्दोलनका क्रममा प्रहरीले पीडितलाई लाठी चार्ज, बुट प्रहार समेत गरेको थियो । लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्द्रागिरी १५ तिनथानास्थित टहरामा बस्दै आएका मिटरब्याजी पीडितहरुको आन्दोलन रोक्न प्रहरीले सो स्थानमा घेरा हालेको थियो । आन्दोलनकारीहरु कीर्तिपुर बजारबाट नाराजुलुश गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए । सो क्रममा उनीहरुलाई नयाँबजार गेट नजिकैबाट नियन्त्रणमा लिएको हो ।

मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नु पर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजी पक्रेर जेल हाल्नु पर्ने पीडितको माग छ । संघर्ष समिति अध्यक्ष गुप्ताले माग पूरा नभएसम्म घर नफर्किने बताए ।