चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।
श्रीवास्ताव बाल्यकालदेखि नै मिमिक्री र कमेडी गर्ने गर्थे । उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए ।

श्रीवास्तवलाई स्थापित भने कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जले गराएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा रिमेक, आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।