समयमा शल्यक्रिया नहुँदा पेटभित्रै शिशुको मृत्यु

काठमाडौँ । विराटनगरको कोसी अस्पतालमा प्रसूतिका लागि भर्ना गरिएकी गर्भवतीको समयमै शल्यक्रिया नहुँदा पेटभित्र नै शिशुको मृत्यु भएको छ। आमाको अवस्था पनि गम्भीर छ।

मोरङको कटहरी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना परियारलाई प्रसूति व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। बिहान ४ बजे भर्ना गरिएकी उनको शल्यक्रिया भने राति १० बजेतिर मात्रै गरियो। उनको पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ ड. श्रद्धा श्रेष्ठले शल्यक्रिया गरेकी हुन्। शल्यक्रिया गर्दा पाठेघर फुटेर पेटभित्रै शिशुको मृत्यु भएको पाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए। ‘गर्भवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गर्दा बच्चाको धड्कन ठीकै थियो।

पाठेघर फुटेर अत्यधिक रक्तश्राव भएकाले पेटभित्रै शिशुको मृत्यु भएको अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अन्जु देवले बताइन्। उनका अनुसार आमालाई बचाउन पाठेघर नै फाल्नुपर्ने अवस्था आयो। पाठेघर फालेपछि स्वास्थ्य अवस्था थप जटिल बनेकी सिर्जनालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ।

सिर्जनाका जेठाजु सागर परियारले भने चिकित्सकको लापबाही र अस्पतालको बेवास्ताले घटना भएको आरोप लगाएको छ । ‘बुहारीलाई अस्पताल भर्ना गरिसकेपछि एक्स–रे र पिसाब चेकजाँच गर्न लगाइयो। बिरामीको अवस्था थप जटिल बन्दै गयो। तर रिपोर्ट भने साँझसम्म पनि हेरिएन। खोजी गर्दा चिकित्सक भेटिएनन्,’ उनले भने, ‘लापरबाही र बेवास्ताका कारण शिशु गुमाउनु पर्‍यो। गम्भीर अवस्थाकी आमालाई बचाउन सकिन्छ कि सकिँदैन भन्ने पीडा थपिएको छ। बरु बेलैमा रिपोर्ट हेरेर शल्यक्रिया सम्भव छैन भन्नु पर्‍थ्यो। थप उपचारका लागि अन्तै लैजाने थियौं।’

परियारका अनुसार अत्यधिक पेट दुखेपछि ३ दिनअघि पनि सिर्जनालाई अस्पताल लगिएको थियो। तर पिसाबमा संक्रमण भएको र अरु समस्या नरहेको भनेर फर्काइदिएको उनको भनाइ छ। घर फर्काएपछि अवस्था झन् गम्भीर हुँदै गएकाले पुनः अस्पताल भर्ना गरिएको परियारले बताए।