वर्षौंसम्म बीमा रकम नपाएपछि किसानहरु सडकमा

काठमाडौँ । केरा खेती नष्ट भएको वर्षौं दिन बितिसक्दा पनि बीमा बापतको रकम नपाएपछि बारा निजगढका किसान यतिबेला सडक संघर्षमा उत्रिएका छन्। पटकपटक माग गर्दा पनि बीमा कम्पनीले रकम उपलब्ध नगरेपछि किसान सडकमा उत्रिएका हुन्।

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा १ सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

हिमालयन इन्स्योरेन्स कम्पनीबाट खेतीको बीमा गरेका किसानले हालसम्म बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन्। कृषिमा लगाइएको लगानी सुरक्षित गर्न बीमा गरेका किसान बीमा कम्पनीबाट पीडित बन्न पुगेका छन्।

बारा केरा उत्पादक तथा फलफूल व्यवसायी संघमा आवद्ध किसानले दुई दिन भित्र रकम उलपब्ध नगराए चरणबद्धरुपमा आन्दोलन गर्दै जाने चेतावनीसमेत दिएका छन्। दसैंको मुखमा सडकमा उत्रनुपर्ने बाध्यता बुझिदिन आग्रह गर्दै किसानले तत्काल रकम उलपब्ध गराउन माग गरेका छन्।

बीमा कम्पनीले किसानलाई प्रति कठ्ठा १५ हजारका दरले एक सय २० बिगाहको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानको भनाइ छ। केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक हजार दुई बिगाहमा केरा खेती हुने गरेको छ। उक्त खेतीमध्ये एक सय २० बिगाहको बाली नष्ट भएको हो।

बीमा रकम प्राप्तीका लागि किसानको टोलीले यसअघि काठमाण्डौसम्म पुगेर बीमा कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। तर आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएको किसानको गुनासो छ। अन्नपूर्र्णपोष्टबाट