अमेरिकाकी चर्चित स्की पर्वतारोहीको शव भेटियो

काठमाडौँ । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ ।

उनी गत सोमबार बिहान आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए।

‘हामी शव निकालेर काठमाडौं ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने। सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।