मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

काठमाडौँ । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै टेकेन्द्र सुनारमाथि निर्घात कुटपिट भएको छ । सुनार त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला कुटपिट भएको हो ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् ।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए । कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ ।

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार समेत लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।