ग्रामिण भेगका सडक अझै खुल्न सकेनन्

काठमाडौँ । वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन । रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन् । सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ ।

पहिरोका कारण हिडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९ का दलबहादुर खत्रीले बताए । वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ”, खत्रीले भने । पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाई भएको बताइएको छ ।

सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले गुनासो गरे । “धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिडेर जानुपर्ने बाध्यता छ”,चन्दले भने । जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएतापनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् ।

सम्वन्धित निकायले ध्यान नदिँदा यात्रु भएपनि सवारी चलाउन मुस्कील भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयको भनाइ रहेको छ । वर्षा सकिएर चाडबाडको समय सुरु भएपनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।