नेपाली सैनिक लिएर गएको जहाज अफ्रिकाको मालीमा अलपत्र

काठमाडौँ । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन( एकेडब्लू (सगरमाथा) न्यारोबडी जहाज युद्धग्रस्त पश्चिम अफ्रिकाको मालीमा अलपत्र परेको छ ।

काठमाडौंबाट गत बुधबार उडेको जहाज पन्चर भएको एउटा पांग्रा फेर्न नसकेर मालीको गाओ विमानस्थलमा अड्किएको हो । त्यहाँबाट तिहार मनाउने सपना साँचेर फर्किन लागेका ७५ सैनिक झोलीतुम्बा कसेर उडान कुरिरहेका छन् । जहाजका चालक दलसहित २० कर्मचारी सैनिक ब्यारेकमा बसिरहेका छन् ।

निगमको लापरबाहीका कारण चालक दल र फर्किन लागेका सैनिक मालीमा रोकिएका हुन् । जहाज अड्किँदा निगमलाई दैनिक करोडौं घाटा भइरहेको छ । एउटा जगेडा पांग्राबिनै जहाज माली उडाइएको थियो । मालीका लागि शनिबार काठमाडौंबाट कार्गो गरेर दुइटा पांग्रासहित ६ सय किलोग्राम स्पेयरपार्ट्स दिल्ली हुँदै पठाइएको छ । तर, ती सामग्री कहिले माली पुग्छन् भन्ने यकिन जवाफ सम्बन्धित अधिकारीसँग छैन । द्वन्द्वग्रस्त मालीको गाओ अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान अत्यधिक न्यून हुन्छ । त्यहाँबाट संयुक्त राष्ट्रसंघका चार्टरलगायत उद्धार र सहायतासम्बन्धी उडान धेरै हुन्छन् ।

निगमको विमान लिएर पाइलट नरबहादुर विश्वकर्मा, मुकेश गुप्ता, कोपाइलट राकेश काफ्ले र मोनिसविक्रम शाह, ६ परिचारिका र ४ परिचारकसहित चालक दलका १४ जना, दुई इन्जिनियर, एक डिस्प्याचर र मार्केटिङ विभागका एक कर्मचारी माली पुगेका हुन् । उनीहरू २० जना नै मालीको राजधानी बामाकोदेखि ११ सय किलोमिटर पर शान्ति सेनाको आश्रय लिएर बसेका छन् । उनीहरू द्वन्द्वगस्त मुलुकमा त्रासका बीच बसेका छन् । उनीहरूलाई ‘साइरन बज्नासाथ बंकरमा जान’ नेपाली सेनाले सजग गराएको छ ।

आइतबार साँझसम्म साइरन बजेको छैन । साइरन बज्नु भनेको दुश्मनसँग आमनेसामने हुनु हो । ‘ठूलो चौरमा बस्नलाई प्रिफ्याब र कन्टेनर राखिएका छन् । अहिलेसम्म समस्या नभएको जानकारी छ,’ निगमका एक उच्च अधिकारीले भने । सेनाको अनुमतिबिना क्याबिन क्रु बाहिर निस्कन पाउँदैनन् ।

‘युद्धग्रस्त क्षेत्र रहेछ । सहजै बाहिर निस्किन नमिल्ने रहेछ । त्यहाँको एयरपोर्टमा राजधानीदेखि दिनमा एउटा मात्रै सानो एटीआर जहाजको डेढ घण्टाको उडान रहेछ,’ एक पाइलटले कान्तिपुरसँग भने, ‘इन्टरनेट र अरू सञ्चारमाध्यम पनि सजिलै उपलब्ध छैन । हाम्रो पनि राम्ररी सम्पर्क हुन सकेको छैन ।’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निगमका कर्मचारी शान्ति मिसनका सैनिकसँगै बसिरहेको बताए । ‘द्वन्द्वग्रस्त क्षेत्र हो । हाम्रा मान्छे ब्यारेकमै छन्,’ उनले भने ।

पांग्रा नपाएर मालीमा अड्किएको निगमको यो जहाज १० महिनाअघि इन्जिनमा समस्या आउँदा दोहामा ७० दिन ग्राउन्डेड भएको थियो । त्यस्तै, गत चैतमा सबै पांग्रा एकैपटक ‘ब्रस्ट’ हुँदा बैंककमा पनि एक साता अड्किएको थियो ।

निगमको इन्जिनियरिङ विभागका निर्देशक विक्रम केसी दुई इन्जिनियर उतै रहेकाले सामान पुगेपछि पांग्रा फेर्न मात्रै समय लाग्ने, त्यसपछि जहाज आइहाल्ने बताउँछन् । उनले जहाजमा पांग्रासहितका सरसामान भएको टुलकिट अनिवार्य राख्नैपर्ने नियम नभएको बताए । ‘एउटा जहाजमा हजारौं पाटर््स लागेका हुन्छन्, कुन कति बेला बिग्रिन्छ भन्नै सकिँदैन,’ उनले भने, ‘माली सहजै पहुँच हुने हाम्रो रुटमा नपरेकाले मर्मत गर्न ढिलाइ भएको हो ।’ नेपालबाहिर जहाज बिग्रिँदा एजेन्टले बनाउने ठेक्काको जिम्मेवारी हुने भएकाले मालीमा पनि नजिकैको एजेन्टमार्फत काम गराइरहेको केसीले बताए ।

निगमकी प्रवक्ता तथा संस्थागत विभागकी निर्देशक अर्चना खड्काका अनुसार स्पेयरपाटर््स दिल्लीबाट इथोपियन एयरलाइन्समार्फत इथोपिया हुँदै मालीको राजधानी बमाकोसम्म पुर्‍याइने र त्यहाँबाट सडकमार्ग हुँदै गाओ लाने तयारी छ । ‘काठमाडौंबाट पठाइएका टायर र उपकरण भोलि (सोमबार) मालीको राजधानी बामाको पुग्छन् । त्यहाँबाट ११ सय किलोमिटर दूरीमा रहेको गाओमा पुर्‍याइनेछ,’ उनले भनिन् । पांग्रा गाओ पुर्‍याउन संयुक्त राष्ट्रसंघ मातहतको शान्ति सेनाको मद्दत लिइने उनले जानकारी दिइन् । तर गाओ जाने सडकमार्ग युद्धका कारण खतरा भएकाले सकभर हवाईमार्गबाट गाओ पुर्‍याउन प्रयास गरिने इन्जिनियर विभागका निर्देशक केसीले बताए । ‘युद्धग्रस्त क्षेत्र हो । सडकबाट सम्भव देखिँदैन । त्यसैले सकभर बामाकोबाट पनि एयर ट्रान्सपोर्ट नै गर्नुपर्ने हुन्छ,’ उनले भने ।

सेनाको ईओडी गुल्म ९शान्ति सेना० को आठौं डफ्फा बदल्न बुधबार राति ११ बजे सेनानी पवन थापाको नेतृत्वको टोलीलाई लिएर न्यारोबडी दोहा गएको थियो । त्यहाँबाट अफ्रिकाको चाडमा इन्धन भरेर बिहीबार दिउँसो मालीको गाओ पुगेको थियो । सेनाका अनुसार त्यहाँबाट सेनानी संगीत पुनको नेतृत्वमा रहेका ७५ जनालाई राखेर मालीको राजधानी बमाको, चाड, दोहा हुँदै काठमाडौं फर्कने योजना छ । ‘७ वटा ल्यान्डिङ भएको एकतर्फी झन्डै १६ घण्टाको चार्टर उडानमा इन्जिनियर विभागले फ्लाई–वे–किट ९पांग्रासहित अत्यावश्यक स्पेयरपाटर््स० राख्नुपर्नेमा यो गम्भीर त्रुटि हो,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘यसमा पर्यटन मन्त्रालयले छानबिन गरी कमजोरी भएका विभागीय प्रमुख र कार्यकारी अध्यक्षलाई कारबाही गर्नुपर्छ ।’

निगमसँग १ सय ५८ सिट भएका दुइटा न्यरोबडी र २ सय ७४ सिट क्षमताका दुइटा वाइडबडी विमान छन् । न्यारोबडी चार्टर उडानमा लगाउँदा प्रतिघण्टा कम्तीमा ८ हजार डलर ९१० लाख रुपैयाँ हाराहारी० दरमा भाडा लिइन्छ । सगरमाथा नामको यो विमान मालीमै अड्किएपछि निगमले दैनिक करोडौं रुपैयाँको कारोबार गुमाउनुपरेको छ । यसैका कारण हाल भइरहेका अन्तर्राष्ट्रिय उडान ५ घण्टासम्म डिले गराउन निगम बाध्य भएको छ । यसले हाल भारतका दिल्लीसहित १० वटा गन्तव्यमा काठमाडौंबाट उडान गर्दै आएको छ । ‘दोहा जस्तो सुविधासम्पन्न विमानस्थलमा त ७० दिन रोकियो भने अहिले जहाज अफ्रिकाको युद्धग्रस्त दुर्गम ठाउँमा पुगेको छ,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘व्यवस्थापनको ध्यान व्यक्तिगत लाभ र शक्तिकेन्द्र खुसी पार्नेमा छ । नेताहरूलाई चुनावको चिन्ता । अर्बौं ऋणमा डुबेको संस्थामाथि खेलाँची भयो ।’ कान्तिपुरपोष्टबाट