पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा छाडिन्न : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको विवेकहीन निर्णयका कारण दुई जनाले अनाहकमा ज्यान गुमाउनुपरेको दाबी गर्दै अब उनलाई छाडा नछाड्ने चेतावनी दिए।

सिन्धुलीको दुधौलीमा आइतबार माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले  प्रतिगमनकारी शक्तिले फेरि मुन्टो उठाउन खोजेकोले समाजवादी मोर्चाले विशाल प्रदर्शन गरेर दरो झापड दिएको पनि बताए बताए।

समाजवादी मोर्चाको सभा नभएको भए त्यस दिन अझ ठूलो बितण्डा राजावादीहरूले गर्न सक्ने भनेर काठमाडौंका जनताले धन्यवाद दिएको दाहालले बताए।

दाहालले वर्तमान सरकार भ्रष्टाचारको रक्षाका लागि बनेको आरोप लगाए। सरकारको कार्यशैलीका कारण जनतामा निराशा छाएको र आम नागरिक सरकारप्रति असन्तुष्ट रहेको उनले बताए।

माओवादी नेता दाहालले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि आफूहरूले पुर्‍याएको योगदानलाई जनताले सम्झनुपर्ने बताए। उनले समाजवादी मोर्चालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रतिगमनकारी शक्तिहरूलाई परास्त गर्न सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

गणतन्त्रको रक्षा गर्न सशक्त संघर्ष आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा माओवादी अझ संगठित भएर अघि बढ्ने प्रतिबद्धता जनाए।