निर्वाचन आयोगद्धारा सामाजिक सञ्जाल नो नट अगेनमाथि निगरानी, सामाजिक सञ्जाल प्रयोगकर्ताद्धारा रोष व्यक्त

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेताहरु विगतमा गरेका गलत कार्यले गर्दा पुराना नेताहरुप्रतिको वितृष्णाका कारण आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन लक्षित गरी सामाजिक सञ्जलमा नो नट अगेन शुरु भईरहेको छ ।

सो अभियानमा पछिल्लो समयका पुस्ताहरु निकै सक्रिय भएर लागिरहेका छन् । पुराना नेताहरुलाई पूर्ण रुपमा बहिष्कार गर्ने गरी शुरु भएको सो सामाजिक सञ्जाल अभियानमाथि निर्वाचन आयोगले निगरानी गरिरहेको विज्ञप्ति मार्फत जनाएको छ । निर्वाचन आयोगले नो नट अगेन अभियान राजनीतिक उद्देश्यबाट सञ्चालित भएको टिप्पणी गर्दै शुक्रवार विज्ञप्ति जारी गरी अभियानको गम्भीर रुपमा निगरानी भइरहेको जनाएको हो।

स्वतन्त्र र निष्पक्ष निर्वाचनमा व्यवधान खडा हुने भएकाले यस विषयमा गम्भीर रुपमा नियमन भइरहेको छ, आयोगको भनाइ छ। यसअघि आयोगले नो नट अभियनको फेसबुक पेजलाई बन्द गर्न चेतावनी दिएको थियो। बन्द नगरे १ लाख सम्म जरिवाना र १ वर्ष कैद हुने भन्दै आयोगले सचेत गराएको थियो।

आयोगको उक्त कदमको आलोचना भएपछि शुक्रवार विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गरेको हो। उम्मेदवारका पक्ष विपक्षमा जानकारी दिन बाधा नभए पनि भ्रम फेलाउन नमिल्ने आयोगको भनाइ छ। आयोगले २०७७ मा जारी भएको सामाजिक सञ्जाल उपयोग सम्बन्धि नीतिलाई पनि स्मरण गराएको छ।

आयोगले नो नट अभियनको फेसबुक पेजलाई बन्द गर्न चेतावनी दिए पछि सामाजिक सञ्जालमा नै त्यसको तीव्र विरोध समेत भएको छ । संविधानले दिएको मौलिक हकलाई त्यसले कुण्ठित गराउने प्रयास गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सामाजिक सञ्जाल मार्फत नै रोष व्यक्त गरिरहेका छन् ।