राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताए । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको बताए । उनले राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेताका रुपमा श्रेष्ठ रहेको उल्लेख समेत गरे ।

पौडेलले भने, “मैयाँदेवीले जसरी समाजलाई दयामाया र सद्भावको दृष्टिले हेर्नुभयो त्यो एउटा मानवीयताको उदाहारण हो ।” मैयाँदेवीलाई चिरस्थायी बनाउने र इतिहास जीवित राख्ने काम कन्या कलेज र सामाजिक सङ्घसंस्थाबाट भएको उनले बताए ।  

उनले भने, “अहिले वातावरणको सबैभन्दा ठूलो समस्या रहेको छ । यो समयमा राम्रो प्रकृति र हरियाली बनाउन मैयाँदेवी पार्क बनाएर उनको जीवनलाई चिरस्थायी बनाउँ र सम्पत्ति ट्रष्टमा परिणत गरौँ ।”

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण दाहाल, नेकपा एमाले बागमती प्रदेश सचिव विजय सुवेदी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीलगायतले मैयाँदेवीको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए । श्रेष्ठको यही कात्तिक ५ गते निधन भएको हो ।