प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुर्ने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो ।

शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए ।

उनले भने, ‘‘सबै पक्षबाट मतपत्र छपाइ चुनौतीको रुपमा लिने हो, तर आयोगले र आयोगसँग सम्द्धब मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीहरुले यसलाई अवसरको रुपमा लिनुभएको छ । निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो, तर कार्यतालिकाभन्दा दुई दिन अगावै मतपत्र छपाइ सकियो ।’’

उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल ८ करोड २५ लाख मतपत्र छपाइ भएको जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए ।

आयुक्त भण्डारीले भने, ‘‘छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै थियो । तर, यसलाई सहज रुपमा छापिएको छ । निर्वाचन प्रक्रियामा सामेल हुने प्रयोजनका लागि मतपत्र छापिने क्रममा सहयोग र सद्भावले काम गरेर दुई दिन अगावै सक्नुभयो ।’’

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।