सुदूरपश्चिममा भूकम्पः डोटीमा एकै घरका ३ सहित ६ जनाको मृत्यु

काठमाडौँ । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको छ । भूकम्पमा अन्य ५जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिएका हुन् ।

भुकम्पमा परी ५ जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।