समानुपातिकतर्फ ६ प्रदेशमा एमाले पहिलो

काठमाडौँ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फको जारी मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एमाले प्रतिनिधि सभासहित ६ वटा प्रदेशमा पहिलो पार्टी बनेको छ । मधेस प्रदेशमा भने दोस्रो स्थानमा रहेको छ ।

प्रतिनिधिसभाको समानुपातिकको ८८ लाख मत गनिसक्दा नेकपा एमालेले २४ लाख २१ हजार मत कटाएर पहिलो पार्टी बनेको हो । नेपाली कांग्रेस २३ लाख २ हजार मतसहित दोस्रो स्थानमा छ ।

त्यसैगरी प्रदेशतर्फको समानुपातिकको प्रदेश १ मा १४ लाख २० हजार मत गनिसक्दा ४ लाख ८९ हजार मत कटाएर पहिलो स्थान बनाएको छ । यो प्रदेशमा कांग्रेसले ४ लाख १८ हजार मत कटाएर एमालेलाई पछ्याइरहेको छ ।

कर्णाली प्रदेशमा पनि समानुपातिकतर्फ एमाले नै अघि रहेको छ । यो प्रदेशमा १ लाख ८३ हजारसहित पहिलो बनेको एमालेलाई कांग्रेसले १ लाख ७० मतसहित पछ्याइरहेको छ । सुदूरपश्चिम प्रदेशमा पनि २ लाख ४० हजार मत कटाएर अग्रता बनाएको नेकपा एमालेलाई २ लाख २६ हजार मतसहित कांग्रेसले दोस्रो स्थान बनाएको छ ।

मधेस प्रदेशको समानुपातिकमा नेपाली कांग्रेसले २ लाख ८७ हजार मत कटाएर पहिलो स्थान बनाउँदा एमालेले २ लाख ४५ हजार कटाएर दोस्रो भएको हो । मधेस प्रदेश बाहेक एमाले अरु ६ वटा प्रदेशमा अरु पार्टीलाई उछिन्दै पहिलो स्थान बनाउन सफल भएको छ ।

गण्डकी प्रदेशमा पनि एमाले ३ लाख ४० हजार मतसहित पहिलो स्थानमा हुँदा कांग्रेस ३ लाख १७ मत ल्याएर एमालेलाई पछ्याउदैछ । लुम्बिनी प्रदेशमा पनि एमालेकै अग्रता रहेको छ । यो प्रदेशमा एमाले ५ लाख २ हजार मतसहित अग्रपंक्तिमा हुँदा कांग्रेस ४ लाख ४१ हजार मतसहित दोस्रो स्थानमै रहेको छ । वागमती प्रदेशमा १३ लाख १८ हजार मत गनिसक्दा एमाले ३ लाख ८६ हजार मतसहित अग्रता बनाएको हो । यहाँ कांग्रेस ३ लाख ३५ हजार मतसहित दोस्रो स्थानमा छ ।