बैतडीमा १९ हजार मत बदर

काठमाडौ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार ७ सय ७१ मत बदर भएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ७ सय ६१ मत खसेकामा ५ हजार ४ सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४ सय २३ मत खसेकामा ५ हजार ५५ मत बदर भएका जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका बताए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार ४ सय ६० मत खसेकामा ४ हजार ९ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार १ सय ५५ मत खसेकामा २ हजार १३ मत बदर भएको थियो। प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार २ सय ८० मत खसेकामा १ हजार ८ सय २० मत बदर भएका बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी बताए । उनले भने काठमाडौँजस्तो सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वभाविक रहेको र मतदाता शिक्षा प्रभावकारी नभएको भन्न नमिल्ने बताए ।

बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए । फुँयालका अनुसार केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको छ ।

यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका बताएका छन् ।