स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुँदै

काठमाडौं । निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । मतगणनाको विषय लाई लिएर विवाद भएसँगै रोकिएको मतगणना आज राति ९ बजेदेखि गणना हुने निर्वाचन आयोगको निर्णय भएको छ ।

मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । उनले सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको बताएका छन् ।

दिउँसो ४ बजेदेखि सर्वदलीय बैठकमा निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन ।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुन मतदानको माग गर्दै आइरहेको थियो तर कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको जानकारी दिएको छ।