स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो’ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधली गरेको बताए । बिहीबार पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन्।

बुधबार स्याङजा र बाजुरा जिल्लामा मतगणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि स्याङ्जा २ मा मतपेटिका थन्क्याएको एघारौं दिन बुधबार बेलुकी गणना थालिएको हो।

पोखरेलले फेसबुकमार्फत भनेका छन्,‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ।’

मंसिर ४ गते मतपेटिका ल्याएर वालिङ नगरपालिकाको मतगणनास्थलमा राखेपछि धाँधलीको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको थियो। एमाले नेता कार्यकर्ता १० औं दिनसम्म प्रदर्शनमा उत्रिएका थिए। कांग्रेस नेता कार्यकर्ता विधिप्रक्रिया पूरा गरी गणनास्थलमा ल्याइसकेको मत गनिनुपर्ने माग गर्दै ९ दिनदेखि आन्दोलनमा थियो। एमालेले चापाकोटका ४ बुथ कांग्रेसले कब्जा गरेको आरोप लगाउँदै उजुरी गरेको थियो।

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पदमा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरूबीचको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले टक्कर दिने पनि आँकलन हुन थालेको छ। गठबन्धन सहितको कांग्रेसका उम्मेदवार गुरुङ पहिलो पटक प्रत्यक्षतर्फका उम्मेदवार हुन्। यसअघि उनी समानुपातिकबाट २ पटक सांसद बनेका थिए। एमाले उम्मेदवार अर्याल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुँदै मन्त्री बनेकी थिइन्।

बाजुरामा सर्वदलीय बैठकमा एमाले अनुपस्थित बाजुरामा कांग्रेस र एमालेबीच एकार्काले बुथ कब्जा गरेको आरोपप्रत्यारोप चलेको छ। मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुई जनाले ज्यान गुमाएका थिए।

प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता संजीव एडीको ज्यान गएको थियो। त्यसपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्वयुका केन्द्रीय सदस्य चेतन एडी मारिएका थिए। निर्वाचनमा धाँधली भएको, स्वतन्त्र मतदान गर्न नपाएको र १६ वटा बुथ कब्जा गरी कांग्रेसले धाँधली गरेको भन्दै एमालेले उजुरी दिएको थियो।

एमालेले ८ बुथ कब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो। उक्त उजुरीमाथि छानबिन गर्न आयोगको टोली बाजुरा आएको थियो। टोलीको प्रतिवेदनका आधारमा बुधबार मतगणना गर्न आयोगले निर्देशन दिएको हो।