प्रहरीले रोक्यो भन्सारबाट पास भएको वस्तु

काठमाडौं । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेका छन् । गत मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘युपी ५६ टि २७८५’लाई रोकेको थियो ।

ट्रकमा कुनै पनि प्रकारको लेवल नरहेको  ५ सय सेतो बोरामा पहिचान नभएको वस्तु ९ डिएपी मल जस्तै देखिने वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिएका छन् ।  
 ट्रकमा‘भूमि शक्ति’ लेखेको  ४ सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको को भनाइ छ । 

मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्रीवितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो ।

पौडेलका अनुुसार कमसल खालकोमल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो । बरामद भएको समान शङ्कास्पद मल जस्तै देखिएको बताएका छन्। उनले बरामद भएको वस्तुको नमूना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिएका छन् ।अहिले यसबारे अनुसन्धानकै क्रममा रहेको र प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्ने उनले बताए ।

केही नलेखिएका सेतो रङ्गका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिएका छन् । ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न नसकेको उनले बताए । आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरेका छन् ।

प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको र नेपालमा ओम गङ्गा ट्रेडर्स एण्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको बताएका छन्।प्रतिबोरा १ सय ५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले ५ प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित २५ हजार ५ सय ३८ राजस्व असुल गरेका छन् ।

भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रीन च्यानलबाट जाँचपास गरेका छन् । भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुने र ग्रीन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताएका छन् ।

ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइने ढुङ्गानाले भने । यस्तो अवस्थामा ट्रकमा के सामग्री छ र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नुपर्ने बताए । भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी रहेको छ । उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जानकारी दिएका छन् ।