बराहलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल

काठमाडौं । दमौलीबाट ८ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागि परेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिएका छन् ।

यसैगरी पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थालेको छ ।पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाएका छन् ।

भण्डारीले भने १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर रहेको छ । विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताए । भण्डारीका अनुसार घण्टहरु लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भएको बताए । अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा मन्दिर पुनर्निर्माण गरेका छन् ।

मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब ४० लाखमा मन्दिर पुनर्निर्माण गरेका छन् । पुर्ननिर्माणलाई सङ्घीय सरकारबाट ७ लाख ५५ हजार, गण्डकी प्रदेश सरकारबाट १५ लाख ७२ हजार, व्यास नगरपालिकाबाट ६ लाख ९५ हजार सहयोग गरेका छन् । स्थानीयकै सक्रियतामा ११ लाख ३० हजार चन्दा सङ्कलन गरेको बताएका छन् ।

उनका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ र यसका लागि तीन वटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छन् । समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने सोच राखिएको बताएका छन् ।

मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजा आजालाई आउने र त्यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउने गर्छन । मन्दिरमा दसैँ, पुस १५ मा भक्तजनको बढी भीडभाड हुनेछ । काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिएका छन् ।

मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।