ताप्लेजुङमा २१ जनाले बुझाए निर्वाचन खर्च विवरण

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये ५ जनाले जिल्ला निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाएका छैनन् ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र क बाट जनता समाजवादी पार्टी नेपाल र ख बाट जनता समाजवादीकै प्रदेशसभा सदस्यका उम्मेदवारले पनि खर्च विवरण नबुझाएका बताएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार प्रतिनिधिसभातर्फ जन समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्रबाट उम्मेदवार रहेका ३ जनाले निर्वाचन खर्चको विवरण दिएका छैनन् ।

यसैगरी प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित विभिन्न पार्टीबाट ११ जनाको उम्मेदवारी रहेका थिए । यस्तै, प्रदेशसभा सदस्यका लागि प्रदेशसभा क्षेत्र क बाट एक स्वतन्त्रसहित ८ र ख बाट ७ जनाको उम्मेदवारी थियो । निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ ।

निर्वाचनमा खर्च गर्दा प्रयोग भएको बैंक खाता र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गर्नुपर्ने निर्वाचन कार्यालयको सूचनामा उल्लेख रहेको बताएका छन् । तर खर्च विवरण बुझाएका २१ मध्ये १ जना बाहेकले बैंक खाता र खर्च गर्ने पदाधिकारीको विवरण नबुझाएको जानकारी दिएका छन् ।