मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको बताए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको थियो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुननसकेको बताए । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन् ।

यसैगरी मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म ८ वटामा पानी पुगिसकेको र हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको बताए ।

कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने राईले बताएका छन् । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ । मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।

शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको र कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको बताएका छन् । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जानकारी दिएको छ ।