‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ । तराई मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने बताएका छन् ।

भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन् । तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको बताए । केही विमानस्थल १२ बजेपछि खुल्छन्की भन्ने प्रतिक्षामा छन् र उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको उनले बताएका छन् ।

यसैगरी यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज भद्रपुर र पोखराबाहेक सबै विमानस्थलको उडान प्रभावित भएको र बिहानैदेखि उडान प्रभावित हुँदा यात्रुमर्कामा परेका छन् ।

देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लाग्नुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छन् ।