सांसदको शपथ बिहीबार १ बजे हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ। संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ खुवाउने तयारी रहेको जानकारी दिएको छ ।

प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीनदिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको विवरण केलाइरहेको छ। सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो। निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान रहेको छ।

राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसी र राप्रपाका नेता पशुपति शमशेर जबराको उमेर ८० वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।