सुनकोसी नदीमा पक्की पुल निर्माण

काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्कि पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएको बताएका छन् ।

उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा उदयपुरको गाईघाटदेखि सिधैै खोटाङ दिक्तेल र दिक्तेलदेखि सिधैै गाईघाट सम्मका यातायातका सधनहरु सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताएका छन् ।

अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी रहेको भए पनि यातायात व्यवसायीको दबाब र जनताको मागअनुसार पुल निर्माणको अन्तिम केही कार्य बाँकी रहेको भए पनि यातायातका साधन सुचारु गरिने अनुमति प्रदान गरेको उक्त पुल हेर्ने पुल सेक्टर नम्बर १ धरानका प्रमुख प्रदीप भण्डारीले बताए । विसं २०७५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले काममा ढिलाइ गर्दा उदयपुर, खोटाङ, तराई, मधेस आवतजावतामा कठिनाइ भोग्नु परेको थियो ।

१० वर्षअघिनै सुनकोसीमा पक्की पुल निर्माण कार्य सुरु भएको थियो । माघसम्ममा पुल निर्माण सम्पन्न भइसक्ने र पार्वता गौरा जेभि कन्ट्रक्सन निर्माण कम्पनीले २०६९ चैतदेखि सुनकोसीमा पुल निर्माण सुरु गरेको हो ।पुल निर्माणका लागि १९ करोड ६० लाख खर्च भएको पुल निर्माण कम्पनीका कर्मचारी सुजन पाण्डेले बताएका छन्। १ सय ४२ मिटर लम्बाइ र ६ दशमलव ५ मिटर चौडाइको पुल निर्माण गरिएको छ ।

यर्सैैगरी २०६९ सालदेखि गाईघाट दिक्तेल सडकखण्डको सुनकोसीमा ६ महिना बेलिबृज जडान गरेर छ महिनासम्म यातायातका साधन चल्ने गरेका थिए । जेठमा सुनकोसीमा पानीको बहाव बढेपछि ६ महिनासम्म वर्षा याममा बेलिबृज खोलिने गरिएको बताए । गाईघाट दिक्तेल सडकखण्डमा ६ महिना हिउँदमा यातायात सुचारु हुने र वर्षामा छ महिना यातायात सञ्चालन कार्य बन्द हुने गरेका थिए ।

यस पटक सुनकोसीमा पक्की पुल निर्माण भएपछि बेलिबृज पनि हटाइको छ भने अब हिउँद वर्षा दुवै याममा उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म र दिक्तेलदेखि गाईघाटसम्म सिधै यातायातका साधन चल्ने जानकारी दिएका छन् ।