दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो ।

उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि १ करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएको छ ।

दक्षिणी सुडानका खासगरी हिंसा र बाढी पीडित नागरिकका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको प्रमुख मार्टिनले जानकारी दिएका छन् । उनकाअनुसार यहाँ पछिल्लो समयमा २ लाख ६२ हजार जनाभन्दा बढी नागरिक हिंसा र बाढीबाट पीडित भएका छन् । उनीहरु गाँस र बासको पनि व्यवस्था नभएकाले देशभित्रै विस्थापित भएर शरणार्थीका रुपमा बसेका छन् ।

उनीहरुको आधारभूत आवश्यकता तथा महिला र बालबालिकाको उद्धारका लागि सो सहयोग रकम उपलब्ध गराइएको उनले जानकारी दिएका हुन् । आप्रबासन सम्बन्धी एक विश्व संस्था, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघीय बालकोष लगायतका संघसंस्थाहरुले पनि दक्षिण सुडानलाई पहिले केही सहयोग रकम उपलब्ध गराएका थिए ।

ती संस्थाहरुले हालै प्राप्त भएको मानवीय सहायतासम्बन्धी रकमको सही सदुपयोग गरेर यहाँका निकै अप्ठ्यारोमा परेका नागरिकको सहयोगमा लगाउनुपर्ने धारणा राखेका छन् ।