नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

काठमाडौँ । नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ । नेपाली फिल्म ‘ड्रिम्स’मार्फत डेब्यु गरी आएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिरहेकी छिन् । अभिनेता पुष्प र अभिनेत्री शाहले मङ्गलम, मारुनीपश्चात अभिनय गरेको यो तेस्रो फिल्म हो ‘तिम्रो मेरो साथ’ ।

अभिनेत्री शाहले अतिथि भूमिकामा अभिनय गरेको पहिलो फिल्ममा काम गर्दा उनीहरूको चिनजान नै थिएन । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पुष्पले भने, “हाम्रो भेट नै दोस्रो फिल्मका लागि भएको थियो । उनको कामप्रतिको लगाव तारिफयोग्य छ । हामी मिल्ने साथी बनिसकेका छौँ ।” तेस्रो फिल्ममा काम गर्दा झनै एकअर्कालाई बुझ्न पाएको उनले बताए ।

फिल्मनगरीसँग घुलमिल नभएकी अभिनेत्री शाहले पनि अभिनेता खड्कासँग काम गर्न पाउँदा ‘कम्फर्ट फिल’ हुने बताए । “हामीले काम गर्ने शैली बुझिसकेका छौँ । त्यसैले तेस्रो सहकार्यमा झनै सजिलो भयो”, अभिनेत्री शाहले भनीन् “मैले आफू सुहाउँदो भूमिकाभन्दा बाहिर निस्केर काम गर्ने कोसिस गरिरहेकी छु । क्यारेक्टरमा आफूलाई देखेपछि अभिनय गर्न तयार हुन्छु ।”

पत्रकार सम्मेलनमा उनी दुईलाई अभिनय गराउनुका कारण सुहाउँदो केमेष्ट्री रहेको निर्देशक रमेश एमके पौडेलले बताए । उनीहरूको फिल्म दर्शकले प्रतीक्षा गरिरहनुभएकोजस्तो लाग्छ । मैले तयार गरेको कथामा समेत उहाँ दुई फिट हुनुभयो”, निर्देशक पौडेलले भने, “बाहिर जे–जस्तो हल्ला सुनिएता पनि अभिनेत्री शाहसँग काम गर्न निकै सहज र सरल भयो ।” फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ ।

सवीर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, सुवास भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।