नयाँ सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। पेरिसडाँडामा बिहानबाट जारी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय गरेको हो। आज माओवादीको तर्फबाट नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठले मात्र शपथ ग्रहण गर्ने भएका छन्।

श्रेष्ठले कुन मन्त्रालय पाउने नयाँ सत्ता समीकरणको बैठकमा छलफलपश्चात टुंगो लाग्नेछ। आज उनले उपप्रधानमन्त्रीको रुपमा सपथ खानेछन्। अन्य मन्त्रीको बारेमा पुन छलफल गरेर टुंगो लगाउने भएको छ।

माओवादीबाट श्रेष्ठ, उपमहासचिव बर्षमान पुन, महिन्द्र राय यादव र रेखा शर्मालाई मन्त्री बनाउनेबारे चर्चा रहेको छ। पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने श्रेष्ठ र पुनलाई सुरुमै मन्त्री बनाउने माओवादीका एक उच्च नेताले बताए। एमालेसँग सहकार्यमा सुरुदेखि नै नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन खटिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।