भेडेटारमा शनिवारबाट खाना महोत्सव सुरु

काठमाडौँ । पर्यटक भित्राउने उद्देश्य सहित होटेल एसोसिएसन भेडेटारले अङ्ग्रेजी नयाँ वर्ष २०२३ लाई लक्षित गरी दशौँ  धनकुटाको भेडेटारमा शनिवारबाट खाना महोत्सव सुरु भएको छ ।

महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्ग्यानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू मुख्य आकर्षणको रुपमा रहेका छन् । महोत्सवमा आउने आगन्तुकहरूलाई प्याराग्लाइडिङ, माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

महोतत्सवमा आउने पर्यटकहरूलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्ध विहार गुम्बा, ध्वजे डाँडा, अजङ्गको बरको रुखलगायतका ठाउँमा घुमाइने बताएका छन् ।

यसैगरी महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको होटेल एसोसिएसन भेडेटारको अध्यक्ष शान्ति लिम्बूले जानकारी दिएका छन् । पर्यटकीय स्थल भेडेटारमा २०६८ सालदेखि नियमित रूपमा खाना महोत्सव हुँदै आइरहेको छ ।