काठमाडौँ । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् ।
सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार बितेको १ वर्षमा यहाँ खोजतलासका लागि छ सय ९३ निवेदन परेकामा २ सय ४९ जना मात्र फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए ।
महिला तथा बालबालिका खोजतलासका लागि हामीकहाँ निवेदन परेकामध्ये २ सय ४९ जना फेला परे पनि ४ सय ४४ जना अहिलेसम्म सम्पर्कमा छैनन्”,संयोजक कोइरालाले बताए । घरपरिवारले दिएको निवेदनका आधारमा हामीले खोजतलास गरिरहेका छौँ तर अझै सम्पर्क हुन नसकेको बताएका छन् ।
सो अवधिमा जोखिमपूर्ण यात्रामा रहेका पाँच सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता पठाएकामा गत वर्ष ४ सय ३४ जनालाई फिर्ता पठाइएको थियो । घरपरिवारसँगको सल्लाहबिना रोजगारी, विवाह वा घुम्न जाने बहानामा यहाँको नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई फिर्ता पठाइएको उनको भनाइ थियो ।
उक्त नाका भएर जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका रहेको पाइएको र सन् २०२२ मा सबैभन्दा बढी सुर्खेतका ८६ र बाँकेका ८२ जनाले जोखिमपूर्ण यात्रा गरेका थिए । सामाजिक सञ्जालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारको जोखिम बढेको संयोजक कोइरालाले बताएका छन् ।
Add Comment