४४ पुल निर्माण गर्न र १९ पुलको ठेक्का बाँकी

काठमाडौँ । पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको उक्त आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो ।

मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा पुल १ सय ३७ रहेकामा हालसम्म ९३ पुल सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जानकारी दिएको छ । बाँकी अवधिमा १९ पुलको ठेक्का आह्वान गर्नुपर्नेमा चालू आवमा नै ठेक्का आह्वान गरेर निर्माणमा जाने आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

निर्माणाधीन पुल २५ मध्ये पनि कतिपय पुल सम्पन्न हुने अवस्थामा पुग्न लागेको उनको भनाइ थियो । सूचना अधिकारी सुरजले भने, “यो आवमा १८ पुल निर्माण गरिसक्ने लक्ष्य छ ।” ठूला पुल बन्न लामो समय लाग्ने भए पनि अहिले सो राजमार्गमा निर्माणमा जानुपर्ने ठूला सडक नभएको र अहिले बनाउन बाँकीमा पनि लामो लामो पुल नभएकाले राम्रो काम गर्नसक्ने निर्माण कम्पनी आएमा एकै याममा सम्पन्न गर्न सकिने उनले बताए ।

सूचना अधिकारी सुरजले भनृ, “साना २०÷२५ मिटर लामा पुल भएकाले एकै याममा सकिन्छ ।” निर्माण व्यवसायीले काम सरासर नगर्दा मात्रै लामो समय लाग्ने हुन्छ । थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुवैका लागि पर्याप्त नभएको र अझै पनि कतिपय सडक खण्डमा रेखाङ्कन टुङ्गो लगाउन बाँकी सूचना अधिकारी सुरजले उल्लेख गरे ।

मध्यपहाडको समृद्धिका आधारका रुपमा रहेको यस राजमार्गको निर्माण सुरु भएको डेढ दशकमा ६४ प्रतिशत सकिएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको ६ वर्ष नाँघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन) गर्नेमै अन्योल रहेको छ । पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन गरिएको थियो । ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएकोसूचना अधिकारी सुरजले बताए ।

चालू आवमा मात्रै ३ सय ५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र एक सय ३४.५ किमी सडक निर्माणका लागि ठेक्का गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ तर धेरै खण्डमा ठेक्का लगाउन बाँकी नभएको आयोजनाले जनाएको छ ।