सामान्य तालिमका भरमा फार्मेसी सञ्चाल : औषधीको सदुपयोगभन्दा दुरुपयोको खतरा

काठमाडौँ, असार । सामान्य तालिमका भरमा फार्मेसी सञ्चालन हुँदा औषधीको सदुपयोगभन्दा दुरुपयोगको खतरा बढेको छ । कानुनी व्यवस्थामै ३ महिनाको सामन्य तालिमले मात्रै पनि फार्मेसी राख्ने पाउने व्यवस्था भएकाले दुरुपयोगको खतरा बढेको हो । परानो व्यवस्थाअनुसार सञ्चालन भैरहेको औषधी पसल सञ्चालन गर्न सम्बन्धित विषय नै अध्ययन गरेको हुनुपर्छ भन्ने आवाज विज्ञहरुले उठाउन थालेका छन् । तर सरकारले भने यसलाई अनिवार्य बनाएको छैन ।

सरकारले ०५९ सालसम्म पनि तालिमपछि औषधी बिक्री वितरण गर्न पाउने व्यवस्था बनाएको थियो । त्यसयता अहिलेसम्म तालिम सञ्चालन भएको पाइँदैन । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा विनाअध्ययन औषधी बिक्री वितरण गर्दा औषधीको सदुपयोगभन्दा दुरुपयोग हुने खतरा बढिरहेको आवाज बारम्बार उठ्ने गरेको छ ।

यसरी अनुभवको नाममा विनाअध्ययन बिरामीलाई औषधी दिँदा गलत पर्ने, एन्टिबायोटिकको महा दुरुपयोग हुने र रोग निको हुने नाममा जथाभावी औषधी दिने काम निकै गलत भएको छ । खासगरी, हचुवाकै भरमा बिरामीको स्वास्थ्यमा नै प्रतिकूल असर पर्ने गरी उच्च मात्राको एन्टिबायोटिक दिने, नाफाका लागि बिरामीलाई आवश्यकताभन्दा धेरै औषधी दिने, औषधी कम्पनीबाट पाइने बोनसको लोभमा अनावश्यक भिटामिन दिने जस्ता कुरा अहिले नेपालमा आमरुपमा चल्ने गरेको पाइन्छ । यसले गर्दा नेपालमा औषधीको क्षेत्रमा गलत अभ्यास भइरहेको विज्ञहरुको भनाइ छ ।

पछिल्लो समय फार्मेसी विषयमै अध्ययन गरेर फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । तर अझै पनि नेपालमा फार्मेसी सञ्चालनको पुरानो शैली अर्थात तालिमबाट फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या धेरै छ । जसले गर्दा स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकार गम्भीर भएको देखिँदैन । औषधी नियमित सेवन गर्दा दुखाइ निको हुन सक्ला तर मिर्गौला फेल हुन सक्छ । त्यसैले फार्मेसी विषयमा नै अध्ययन गरेर फार्मेसी राखेको व्यक्तिले कुन औषधी नागरिकको स्वास्थ्यमा कस्तो खालको असर गर्छ भन्ने कुरा बुझेका हुन्छन् र दिए पनि निकै कम डोजको औषधी दिन्छन् ।

कुनै पनि शिक्षण संस्थाले फार्मेसी व्यवसायसँग सम्बन्धित विषयमा प्रदान गरेको शैक्षिक उपाधि तथा प्रमाणपत्रलाई नेपाल फार्मेसी परिषद्ले मान्यता दिने भनिएको छ ।