चलचित्र ‘निर्देशकको यात्रा’ सार्वजनिक

काठमाडौँ । अमेरिकामा प्रकाशित चलचित्र निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस्’को नेपाली अनुवाद निर्देशकको यात्रा सार्वजनिक भएको छ ।

निर्देशक मोहन राईद्वारा अनुवादित पुस्तकको अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुष्मा राईले संयुक्त रूपमा विमोचन गरेका छन् । कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले चलचित्र सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेका थिए ।

अनुवादक मोहन राईले आफू यस्ता प्राज्ञिक काम निःशुल्क गर्न तयार रहे पनि यसमा संस्थागत संलग्नताको खाँचो रहेको बताएका छन् ।
निर्देशक नवीन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब निर्देशक राईले अनुवाद गरेकोमा खुसी व्यक्त गरेका छन् ।

लेखक अभि सुवेदीले मोहन राईद्वारा अनुवादित किताब चलचित्रका लागि मात्र नभएर थिएटरका लागि पनि उत्तिकै उपयोगी रहेको जानकारी दिएका छन् ।