विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण

काठमाडौँ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरेका छन् ।

क्रियटिङ पोसिबिलिटिज सिपी नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई ९० हजार बराबरको साइकल वितरण गरेको बताएका छन् ।

त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई २ लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताए । सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको र त्यस क्षेत्रबाट विद्यालय टाढा भएको कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका बताएका छन् । सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको र विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् ।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिएका छन् ।

पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५६ वटा आमा समूह गठन गरी १ हजार बढी सदस्य विस्तार गरेको छ र हाल ३ वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताएका छन् ।