राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन

काठमाडाैँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप आजबाट सुरु भएको १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गरेकी छन् ।

 

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको हो ।

जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल १ सय ७० स्टल राखिएका छन् । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ ।

मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् । सो प्रदर्शनी पुस २१ देखि २३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।