प्रधानमन्त्री रोजगार कार्यक्रममा रुख काट्ने राउटेलाई विरुवा रोप्ने काम

काठमाडौं, असार । लोपोन्मुख रूपमा रहेका राउटे समुदायलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको छ।

दैलेखको गुराँस गाउँपालिका–५ गोगनपानीस्थित जंगलमा बस्दै आएका राउटे समुदायका ५२ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको हो।

उनीहरूलाई असार १८ गतेदेखि ३० गतेसम्म रोजगारी दिइएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् रोजगारी पाएका राउटेहरूले जंगलमा वृक्षरोपण गर्ने काम गर्छन्। रोजगारमा समावेश भएकै दिन उनीहरूले ५० वटा बिरुवा रोपेका छन्।

रोजगार कार्यक्रममा आवद्ध राउटेले दुईरतीन दिनभित्र ज्याकेट लगायतका सामान पाउने अध्यक्ष वलीले जानकारी दिए।

उनीहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तोकिएको दैनिक ज्याला पाउने छन्।

उनीहरूलाई गुराँस गाउँपालिकाको अगुवाइमा प्रधानमन्त्री रोजगार सेवा केन्द्र गुराँसमार्फत् कार्यक्रममा आवद्ध गराइएको हो । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गराइएको अध्यक्ष केसीले बताए ।

‘जंगलमा फिरन्ते जीवन बिताउने, रुख बिरुवा काट्ने गरेका छन् राउटेहरूले,’ उनले भने, ‘यसरी जंगल फाँड्ने राउटे समुदायलाई नै वृक्षरोपण गर्नेगरी कार्यक्रममा समावेश गरिएको छ, यसले उनीहरूलाई जंगल मास्नु हुने रहेनछ भन्नेबारे सिक्ने आधार हुनेछ।’

राउटे समुदायलाई समाजको मूलधारमा ल्याउन रोजगार कार्यक्रममा उनीहरूलाई समावेश गरिएको अध्यक्ष वलीको भनाइ छ ।

‘उनीहरूलाई समाजका अन्य नागरिकजस्तै जिम्मेवारी नागरिक बनाउनु छ,’ वलीले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्य केही स्थानीय तहहरूमा फितलो देखिरहेका बेला हामीले राउटेलाई यसमा समावेश गर्नु नमूना काम हो।’

गुराँस गाउँपालिकाले राउटेहरूलाई आफ्ना स्थायी नागरिकको रूपमा गतवर्ष नागरिकताको परिचयपत्र वितरण गरेको छ।

आफूहरूले नागरिकता समेत दिएकाले उनीहरूको रोजगारीको ग्यारेण्टी पनि राज्यले नै गर्नुपर्नेमा उनले जोड दिए।

विगतमा काठका भाँडा बनाएर पुर्खौली पेशा गर्दै आएका राउटेहरू पछिल्लो समय भने परनिर्भर हुन थालेका छन्। पछिल्लो समय उनीहरू समुदायमा गएर भाँडा बेच्ने भन्दा पनि पैसा माग्ने गरेका छन्।

उनीहरूको वासस्थान सुरूआतदेखि नै कर्णाली प्रदेशका पहाडी जिल्लामा हुने गरेको छ। उनीहरू विशेषगरी दैलेख र सुर्खेतका जंगलमा बस्दै आएका छन्। एक महिना अघिसम्म सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गुमीको जंगलमा बस्दै आएका राउटे समुदाय जेठ १७ गतेमात्र दैलेखको गोगनपानीमा सरेका थिए। यो समुदायमा अहिले १४५ जना सदस्य छन् ।