सभामुख र उपसभामुखको निर्वाचन माघमा गर्ने तयारी

काठमाडौँ । संघीय संसद्को सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ९ गतेभित्र गर्ने विषयमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको हो।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न सर्वदलीय बैठकमा लगभग सहमति भएको बताए। लेखकले माघ ७ गते सभामुख र माघ ९ गते उपसभामुखको निर्वाचन गर्ने विषयमा सहमति भएको बताए।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ।