शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु

काठमाडौँ । सिरहाको एक विद्यालयमा शिक्षिकाको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।