महिला सहकारीको ३४ लाख चोरी

काठमाडाैँ ।  मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ ।

शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । व्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपियाँ चोरी भएपछि शेयर सदस्यहरूले त्यति ठूलो रकम किन बैंकमा जम्मा गरिएन भनेर प्रश्न उठाएका छन् । शेयर सदस्यहरूले अरु नै बेला हिनामिना गरेको रकम हिसाब मिलान गर्न चोरी गरेको बहाना बनाएको हुनसक्ने आरोप लगाएका छन् ।

प्रहरी निरीक्षक मिलन थापाका अनुसार  “कति पैसा भल्टमा थियो भन्ने विषयमा सञ्चालक र कर्मचारीहरू नै यकिन छैन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले संस्थाका व्यवस्थापक मेनुका नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको बताए ।

प्रहरीले सहकारीका अध्यक्ष मीना कार्की र कर्मचारी प्रकाश खनालसँग पनि आवश्यक सोधपुछ गरेको छ । दुई जना बचत सङ्कलकलाई भने प्रहरीले आवश्यक सोधपुछपछि छाडेको छ ।   घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि घटनाबारे खुल्ने प्रहरी निरीक्षक थापाले बताए ।