स्थानीय वासिन्दामाथि पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीय वासिन्दामाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन सुरु भएको छ ।

इन्स्पेकटर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।

विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।