प्रहरी र विप्लव समूह बिच दोहोरो भिड्न्त, दुईको मृत्यु

काठमाडौं, असार। भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच दोहोरो भिड्न्त हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।

भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।