पुल नहुँदा सास्ती, एक हजार शुल्क तिरेर खोला वारपार

काठमाडौं, असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।

हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ । तर, पुल बनाउने कार्यमा भने कसैले चासो दिएको पाइँदैन । जोखिम मोलेरै पानीको बहाव बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराएवापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताए । “अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिने गरेको छु”, उनको भनाइ थियो ।

पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताए । “सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ”, उनले भने । सवारीसाधन ठप्प हँुदा उपभोग्य वस्तु महँगो मूल्यमा खरीद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन् ।

पैदलयात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको होम राईमगरको भनाइ छ । यस खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।